देउखुरी, चैत १३ :लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्र्तीले किसानलाई सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । घोराहीमा त्रिसङ्गम बहुउद्देश्यीय सहकारी संस्थाको आज उद्घाटन गर्दै उहाँले वास्तविक किसानले सरकारी अनुदान नपाएको भन्दै सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुख घर्तीले किसानको उत्पादनशीलतालाई बजारीकरण गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनुभयो । जीवन परिवर्तनमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले पछिल्लो समय यसतर्फ आकर्षण बढेको उल्लेख गर्नुभयो ।
जिल्ला सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद शर्माले जिल्लामा सहकारीको सङ्ख्या ६२१ पुगेको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, सहकारीका अध्यक्ष प्रेमकुमारी पुन मगर, घोराही उपमहानगरपालिकाका सहकारी रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।