जाडो छल्न औल झारेका भेडाबाख्रा गाउँ फर्काउन सुरु

  चैत १३, २०७८

बाजुरा, चैत १३ : हिमाली भेगका हिउँदमा चिसो हुने डरले भेडाबाख्रा सहित बेँसी झरेका भोटे समुदायका कृषक गर्मी बढेसँगै यती बेला धमाधम गाउँ फर्किन थालेका छन् । जिल्लाको पूर्वीउत्तर क्षेत्रका अधिकाशं भोटे समुदायका स्थानीय जीविकोपार्जनका लागि भेडाबाख्रा पालन गर्ने गर्दछन् ।

भेडाबाख्रलाई हिउँदमा चिसोले गाउँ र वर्खामा तातोले बेँसीमा बस्न नसकिने भएपछि उनीहरु हिउँदमा भेडाबाख्राका साथ बेँसीमा झर्ने र गर्मीयाम हिमाली भेगमै बसोबास गर्ने गर्दछन् ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बूढीनन्दा, स्वामिकार्तिक, हिमाली र जगनाथ गाउँपालिकामा बसोबास गर्दै आएका भोटेसमुदायलाई हिउँदमा भेडाबाख्रालाई चरन टिपन गर्न असहज हुने हुँदा प्रत्येक वर्षमा कात्तिकमा बेँसी झर्ने गर्दछन् ।

चिसोमा भेडाबाख्राका सँगै बालबच्चा र भोटे कुकूर लिएर हिउँदे बसाँइका लागि औलतिर झर्ने र गर्मीबढे सँगै आफ्नै गाउँतिर फर्किने उनीहरुको पहिलेदेखि नै चल्दै आएको चलन हो ।

भोटे समुदायले पहिला गाउँगाउँमा चामल ,नून जडीबुडीको व्यापार गर्थे भने अहिले उनीहरु भेडाबाख्रापालन पोषणका लागि मात्र औल झर्ने गर्दछन् ।

गाउँमा अहिले गाडी गुड्न थालेपछि सबैले भोटेसमुदायबाट नुन चामल तथा जडीबुूडी राख्न छाडेपछि उनीहरुको त्यो व्यवसाय अहिले निकै धरापमा परेको छ ।

जिल्लाको पूर्वी उत्तरी क्षेत्र कोल्टी पाण्डुसैनमा बसोबास गर्दै आएका भोटे समुदायहरु जिविकोपार्जनका गर्नका लागि हिउँदमा भेडाबाख्रा लिएर बेँसी झर्ने गर्दछन् ।

चिसोको समयमा भेडाबाख्रा,चौँरी,घोडालाई बेँसीमा चरिचरन गर्न सहज हुनेहुँदा उनीहरु अहिले पनि अछाम, बझाङ् डोटी लगायतका विभिन्न ठाउँमा हिउँदे बसाइँ गर्दै आएका छन् ।

पहिलाको जस्तो व्यापार नभएपनि अहिले हामीलाई भेडाबाख्रा पालन गर्न समस्या हुन थालेको भोटेसमुदायका भेटापालक बताउँछन् ।

कात्तिकदेखि बेसी झर्दै गरेका भोटे समुदाय चैत महिनाको पहिलो साता गर्मी सुरु भएसँगै त्यहाँ भेडाबाख्रालाई असहज भएको भन्दै उनीहरु पुन हिमाली भेगतिर फर्किन थालेका हुन् ।

चिसो छल्न बाह्रबीस, जयवाग्यश्वरी, काँडा,अछाम लगायतका ठाउँमा बसेका थियौ, अहिले त्यहाँ धेरै गर्मी बढेपछि भेडाबाख्रा, घोडा,चौँरीगाई असहज भएपछि हिमाली भेगमै फर्किन थालेको अङ्ग रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी बस्दै आएको ठाउँमा हिउँदमा धेरै चिसो हुने भएकोले चिसो छल्न बेसी झर्छौ ,अहिले गर्मी सुरु भयो गर्मिले भेडाबाख्रा सहन नसक्ने भएपछि गाउँमै जान थालेको हो ।”

कात्तिकदेखि फागुन महिनामा औलमा अलि तातो हुनेभएकोले भेडाबाख्रालाई सहज हुने हुँदा भेडाबाख्राका साथ बालबालिका ल्याएर कात्तिकमा बेँसी झर्ने र चैतमा पुनः आफ्नै ठाउँमा जाने गरेको बुढीनन्दा नगरपालिका ६ पाण्डुसैनका प्रमिला गुरुङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला भेडापाठाबाट चामल दैनिक उपभोग्यका सामान चामल,नुन तेल गाउँगाउँमा लिएर बिक्री वितरण गर्थ्याैं त्यसबाट कमाइ पनि राम्रो हुन्थ्यो, अहिले गाउँगाउँमा गाडी गुड्न थालेपछि व्यापार गर्न निकै समस्या छ ।”

पहिलाको जस्तो गाउँमा खुल्ला वन छैन । अहिले जताततै समुदाय बनाएका छन् । पहिला समुदाय वन नुहँदा भेडाबाख्रा पालन गर्न सहज हुन्थ्यो । अहिले सबै ठाउँमा बन थुन्ना गरेपछि भेडाबाख्रा पाल्न निकै समस्या भएको गुरुङ्ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया