काठमाडौँ, चैत १३ : राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस)का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा सुविधा दिँदै आएको वाणिज्य बैंकसँग यस खालको सम्झौता गर्दै आएको छ ।
सो अवसरमा महाप्रबन्धक राईले राससका कर्मचारीको हितका लागि आफूहरुले यस खालको सम्झौता गरिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक श्रेष्ठले देशभर सञ्जाल भएको, विश्वसनीय एवम् भरपर्दो रासससँग सहकार्य गर्न पाउनु आफूहरुका लागि समेत गौरवको विषय भएको बताउनुभयो ।
वाणिज्य बैंकले यसअघि नेपाली सेना, नेपाल प्रहरी, नेपाल वायु सेवा निगम, संघीय संसद् सचिवालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगमसँग पनि यस्तै सम्झौता गरिसकेको छ । सम्झौता भएपछि पेशाकर्मी सरल कर्जा मार्फत १५ हजार कर्मचारीले कर्जा सुविधा दिएका छन् ।
देशभर शाखा सञ्जाल भएको सरकारी स्वामित्वको वाणिज्य बैंकले २५८ शाखा कार्यालय, २४५ एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहको छ । राष्ट्रिय वाणिज्य बैंकले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक बैंकले ‘स्मार्ट क्यूआर टेलर’ प्रणाली लागू गरेको छ ।
सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले केही पहिलादेखि उक्त सेवा प्रदान गर्न थालेको हो । विसं २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंक देशका सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत हो ।