काठमाडौँ, चैत ११ : सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आज यहाँ मछिन्द्र क्लबलाई सम्मान गर्नुभयो ।क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७७ र २०७८ मा लगातार दुई पटक प्रथम भई ऐतिहासिक जीत हासिल गरेको छ ।
क्लबको यस सफलताप्रति बधाईसहित सम्मान व्यक्त गर्न मन्त्री श्रेष्ठको स्वकीय सचिवालयद्वारा आयोजित यस कार्यक्रममा क्लबका टीम म्यानेजर अनिल श्रेष्ठ, कार्यसमितिका सदस्यहरु तथा सल्लाहकारहरुलाई खादा ओढाई सम्मान गरिएको हो ।
सो अवसरमा मन्त्री श्रेष्ठले बहु–आयाम बोेकेको यस क्लबले खेलकूद विधामा अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ट क्लबको पहिचान बनाउन सकुन भनी शुभकामना व्यक्त गर्नुभयो । समाजको समृद्धि र टोलवासीका समस्या समाधानमा पनि क्लब प्रयत्नशील रहनुपर्ने सुझाव उहाँले दिनुभयो ।
मन्त्रीका सचिवालय सदस्य सृजनमान श्रेष्ठले क्लबले चालु एएफसी च्यालेन्ज कप प्रतियोगितामा मात्र हैन शहीद स्मारक प्रतियोगितामा तेस्रो पटक पनि विजेता बन्न सकून भनी शुभकामना व्यक्त गर्नुभयो ।क्लबका अध्यक्ष सुनिल कपालीले खेल सँगसँगै सामाजिक र धार्मिक क्रियाकलापमा पनि सक्रिय वडा नं २५ केलटोलमा अवस्थित यस क्लबले टोलवासीको शुभेच्छा र आशिर्वादका कारण सफलता पाउन सकेको बताउनुभयो ।