गिरिजाप्रसाद राष्ट्रिय हक्कीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम विजयी

  चैत १०, २०७८

मोरङ, चैत १० : गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

नेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा भएको पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको छ । यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरले पराजित गरेको छ । शुक्रबार पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम र गण्डकी तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुने संंयोजक रञ्जन थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाली सेना, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ५० हजार, उपविजेताले रु ३५ हजार र तेस्रो हुने टोलीले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया