काठमाडौं, चैत ९ : नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको हो । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले एक कार्यक्रम गर्दै सार्वजनिक गरेको आर्थिक वर्षका २०७७/७८ को तथ्याङ्क अनुसार नेपालमा २८ हजार ६७७ जना क्षयरोग बिरामी उपचारमा दर्ता भएका छन् ।
क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या र उपचारमा आएका बिरामीको सङ्ख्याको अनुपात हेर्दा अझै प्रति वर्ष झण्डै ४० हजारभन्दा बढी मानिसहरुको रोग पत्ता लागेको र उपचारको दायरामा ल्याउन आवश्यक रहेको केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले जानकारी दिनुभयो । सो सर्वेक्षणले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी रहेका छन् । १६ हजार बिरामीको मृत्यु हुने अनुमान उक्त सर्वेक्षणले गरेको छ ।
केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ९१ प्रतिशत क्षयरोगीहरुको सफल उपचार हुने गरेको छ । औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या वार्षिक २२ सय छ । डा. ठाकुरका अनुसार यो सङ्ख्या जनसङ्ख्याको अनुपातमा हेर्दा अत्यान्त धेरै रहेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेको नेपाल पनि समावेश भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए । यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागि उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा १६ सय ३१ जना व्यक्तिहरुको रोग पत्ता लागि उपचारमा ल्याउन झनै चुनौती देखिएको ठाकुर बताउनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । जसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बच्चाहरु थिए । क्षयरोग नियमित उपचारल निको हुने रोग भएतापनी वर्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
चिकित्सका अनुसार क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्क अनुसार नेपालमा मृत्यु हुने काराणमध्ये क्षयरोग १० औँ नम्बरमा पर्छ । उक्त तथ्याङ्कमा नेपालका आधा जनसङ्ख्या क्षयरोगबाट पीडित छन् ।
नेपालमा प्रत्यक दिन १९१ जना बिरामी थपिनुका साथै ४४ जनाको मृत्यु हुने अनुमान बर्डन अफ टिबी ईन नेपालको तथ्याङ्कमा देखाएको छ । २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले यो वर्ष पनि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन लागिएको हो । यो वर्षको नारा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाआँै, जीवन बचाऔँ’ भन्ने रहेको छ ।