इलाम, चैत ९ : चैत लागेसँगै इलामका चिया बगानमा ‘फस्र्ट फ्लस’ (पहिलो पटकको मुना) टिप्नका लागि तयार भइसकेको छ । उच्च गुणस्तरको मानिने फस्र्ट फ्लस कतै–कतै टिप्न पनि थालिएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका र इलाम नगरपालिकाको सोयाकका चिया बगानबाट यो वर्षको पहिलो टिपाइ सुरु भएको हो ।
सोयाकको दुई सय रोपनी चिया बगान भाडामा लिएका जरवीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले दैनिक एक हजारदेखि एक हजार दुई सय किलोसम्म हरियो पत्ती आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अलि उच्च भागका बगानमा चिया टिप्न अझै केही समय लाग्छ । गत वर्षजस्तो चिया पलाएको छैन । तर, तल्लो क्षेत्रका बगानमा टिप्न सुरु गरियो । ”
पोहोरकै चिया गोदाममा
दुई वर्षयता कोभिड–१९ का कारण तयारी चिया गोदाममै थन्क्याउन बाध्य भएका उद्योगी यस वर्षको ‘फस्र्ट फ्लस’ सुरु भए पनि त्यति उत्साहित छैनन् । गत वर्षकै दुई करोड रुपियाँभन्दा बढीको चिया गोदाममै राख्नुपरेपछि सुब्बाले यो वर्ष तयारी चिया बनाउने प्रविधि नै परिवर्तनको गर्ने तयारी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “अहिलेसम्म विशेषगरी चीन र तेस्रो मुलुक पठाउनेगरी स्पेसल टी बनाउने गरेको थिएँ । गत वर्ष चीन पठाउनै सकिएन र गोदाममै थन्क्याउनुप-यो । यो वर्ष भारतीय बजारलाई लक्षित गर्दै ब्ल्याक टीलाई प्राथमिकता दिँदै छु । ”
किसान मर्कामा
नेपाली चिया लागि चीन राम्रो बजार हो तर नेपाली चिया चीन निकासी गर्ने विषयमा सरकारले बेवास्ता गरेको सुब्बाको गुनासो छ । उहाँको अनुसार विगतमा गोल्डन टी, पल टी, ओलाङ टीलगायतका स्पेसल चिया चीन निकासी हुँदै आएको थियो । नेपाल र चीनबीच चियाको व्यापारिक सम्झौता नहुँदा नेपाल घुम्न आउने पर्यटकमार्फत मात्रै चिया चीन पुग्ने गरेको छ । तर, कोरोनाका कारण पर्यटक आउनै बन्द हुँदा त्यसको प्रत्यक्ष असर चिया किसानमा समेत परेको छ । सुब्बाका अनुसार चिनबाहेक फ्रान्स, जर्मनीलगायतका देशमा भने चिया निर्यात केही सजिलो छ ।
अर्गानिक चिया उत्पादन गर्दै आउनुभएका इलामको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं पनि चीनको बजार नहुँदा नेपाली चियाले ठूलो नोक्सानी बेहोर्नुपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फस्र्ट फ्लस सुरु हुने बेला भएको छ तर गत वर्षजस्तो यो सिजनमा मुना पलाएको छैन । यो सिजनमा उत्पादन हुने चिया सबैभन्दा गुणस्तरीय हुन्छ । तर, विदेशको कुन बजार नेपाली उत्पादनका लागि राम्रो भनेर सरकारले पहिचान गर्न नसक्दा उद्योगीले भने ठूलो घाटा सहनु्परेको छ । ”
निर्यात हुने प्रमुख वस्तुमध्ये पर्ने चिया निर्यातका लागि सरकारले यथोचित ध्यान दिन नसकेको उद्योगीको गुनासो छ । गत वर्षदेखि नै नेपाली चिया पैठारी गर्न चीनसँग व्यापारिक सम्झौताको प्रयास गरिरहेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डले दुई देशबीच गर्नुपर्ने सम्झौताको खाका तयार गरेर कृषि मन्त्रालयमा बुझाएको पनि तीन महिना बितिसकेको छ । गत मङ्सिर १२ गते सो खाका कृषि मन्त्रालयमा बुझाए पनि अहिले के भइरहेको छ भन्ने मन्त्रालयले कुनै जानकारी नपठाएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।
“कृषि मन्त्रालयमा विदेशसँग सम्झौता गर्नेगरी सहसचिवको संयोजकत्वमा एउटा कमिटी बनेको छ । त्यो कमिटीले कति काम ग-यो, मङ्सिरमा बुझाएको सम्झौता प्रतिवेदनका विषयमा अहिलेसम्म केही बोलेको छैन । परराष्ट्र मन्त्रालयले पनि के गरिरहेको छ, त्यो पनि जानकारी दिएको छैन,” निर्देशक भट्टराईले भन्नुभयो । भट्टराईले चिनियाँ विदेशमन्त्री नेपाल आउने विषयले पनि त्यो सम्झौता गर्न आफू लागिरहेको बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।