मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

  चैत ०७, २०७८

धनगढी, चैत ७ : ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएका हुन् ।

पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो । यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले कोभिड–१९ को सङ्क्रमणका कारण केही समय खेलकुदका गतिविधि हुन नसकेको तर अहिले सङ्क्रमण घटेपछि खेलका गतिविधि सुरुआत हुनुका साथै भौतिक संरचना निर्माण पनि थालिएको बताउनुभयो ।

आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्बर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिने बताइएको छ । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद रु एक हजार ५०० नगदसहित पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया