आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय सिरिजमा यूएईविरुद्ध बलिङ गर्दै नेपाल

  चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाले आज (सोमबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेको नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेपछि बलिङ गर्ने निर्णय गर्नुभएको हो । यूएईविरुद्ध नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । नेपालले युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई आज बेन्चमा राखेको छ । आज विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई मौका दिएको छ ।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । यूएईले भने पहिलो खेलमा पीएनजीलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । नेपाल अहिले लिगको १० खेलमा पाँच जित, पाँच हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । १७ खेल सकेको यूएई २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

यूएईविरुद्ध नेपालको प्लेइङ-११

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब र सोमपाल कामी ।

तपाईको प्रतिक्रिया