धनगढी, चैत ६ : धनगढीमा आजबाट सुरु भएको ‘मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा कर्णाली प्रदेशले विजयी सुरुआत गरेको छ । कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा पाँच विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको टिमले १३ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले तीन ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण तीन विकेट लिइन् । उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान दुई दुई तथा विनाथापाले एक विकेट लिइन् ।
कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुआती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डो¥याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन् । बलिङतर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले तीन र मनिषा चौधरीले एक विकेट लिइन् । खेलको ‘प्लेयर अफ दी म्याच’ कर्णालीकी एन्जीला थापा भइन् ।
नेपाल क्रिकेट सङ्घ-क्यानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले रु पाँच लाख र दोस्रो हुनेले रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यही चैत ११ गतेसम्म हुने प्रतियोगितामा सात प्रदेशका सात टोली तथा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।