काठमाडौँ, चैत ६ : नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ ।
दक्ष जनशक्ति विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै महिला दिदीबहिनीले पद प्राप्तिका लागि लागिरहनुुपर्ने बताउँदै पद प्राप्त भए पनि वा नभए पनि सङ्घर्ष गरिरहनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानले व्यवस्था गरेअनुसार कांग्रेसमा महिला सहभागिता बढ्दै गएको र अझै थप उपलब्धिका लागि लागिरहन आग्रहसमेत गर्नुभयो ।
नेता सिंहले स्थानीय चुनाव नजिकिँदै गर्दा पार्टीको उम्मेदवारको टिकटको आशा राख्नु स्वाभाविक भए पनि उम्मेदवार हुनका लागि टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताउनुभयो । साथै उहाँले समय कम भएकाले घरघर टोलटोलमा गएर कांग्रेसका उम्मेदवार र कांग्रेसलाई विजय गराउन सबै लाग्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बाँनियाले जिल्लाका १० वटै सङ्घीय क्षेत्रमा महिला सहभागी भई छुट्टै कार्यक्रम गर्न आफूले सहयोग गर्ने बताउँदै त्यसका लागि सबै महिला पनि सक्रिय हुनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको संविधान र कानूनले व्यवस्था गरेअनुसार राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितता गर्नका लागि राजनीतिमा महिला सहभागिता वृद्धि हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूले उपप्रमुख भएपछि जनताको सेवा र विकास निर्माणका साथै राजधानीका पुरातात्विक महत्वका संरचना संरक्षणमा खेलेको भूमिकाका बारेमा अवगत गराउनुभएको थियो ।
दुई दिने कार्यक्रममा विभिन्न छ विषयका कार्यपत्र प्रस्तुत गरिने तय भएको र आज अनार बस्नेतले राजनीतिमा आफ्नो अनुभव र विष्णु बस्यालले राजनीतिमा महिलाको उपस्थिति विषयका दुई कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बाँकी चार कार्यपत्र भोलि प्रस्तुत गरिने केन्द्रका महासचिव हरिप्रिया पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिमा महिला सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउँदै पुरानो इतिहास र अनुभव सुनाएर राजनीतिमा सहभागिता गराउँदा अनुशासन बढ्ने र इमान्दारितामा समेत वृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।