उपमेयर कप : देहिमाडौँ र नागार्जुन विजयी

  चैत ०६, २०७८

बैतडी, चैत ६ : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा दनपा–२ देहिमाडौँ र दोस्रोमा दनपा–११ नागार्जुन विजयी भएका छन्

देहिमाडौँले पहिलो खेलमा दनपा-८ त्रिपुरालाई ६ विकेटले पराजित ग¥यो । त्रिपुराले दिएको ६० रनको लक्ष्य देहिमाडौँले ९ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । देहिमाडौँका लागि बबिता बोहराले नटआउट १७ र आरती बोहराले १० रन बनाइन् । त्रिपुराका लागि करिश्मा थापाले २ विकेट हात पारिन् ।

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिलो ब्याटिङ गरेको त्रिपुरा ११।४ ओभरमा ५९ रनमा अलआउट भयो । उसका सिन्धु भट्टले १६ र मनिषा चन्दले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क रनसमेत बनाउन सकेनन् । त्रिपुराको पारी ध्वस्त पार्ने क्रममा बसन्ती बोहराले ४ र बबिता बोहराले ३ विकेट हात पारिन् । खेलमा ओम्यान अफ द म्याच देहिमाडौँकी बबिता बोहरा चुनिएकी स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

यस्तै अर्को खेलमा दनपा–४ खलङ्गालाई १८ रनले पराजित गर्दै नागार्जुनले सुखद सुरुआत गरेको छ । नागार्जुनले दिएको १५७ रनको लक्ष्य पन्छाएको खलङ्गाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । उसका लागि सम्झना गुरुङले ३६ र कप्तान निशा भट्टले ३२ रनको योगदान गरे पनि हार टार्न सकेनन् । नागार्जुनका लागि कमला पुजाराले ३ विकेट झारिन् ।

पहिला ब्याटिङ गरेको नागार्जुनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनायो । जसमा निर्मला भण्डारीले प्रतियोगिताकै पहिलो अर्धसतक बनाउँदै नटआउट ७१ रनको योगदान गरिन् । उनी ओम्यान अफ द म्याचसमेत घोषित भइन् ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा चैत ५ गतेदेखि सुरु भएको प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले रु ४५ हजार र उपविजेताले रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताउनुभयो । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुँदै आएको छ । यसअघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

तपाईको प्रतिक्रिया