चन्दा उठाएर खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

  चैत ०३, २०७८

खोटाङ, चैत ३ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरेका छन् । बाम्राङस्थित कट्टीका स्थानीय बासिन्दाले आपसमा सहयोग जुटाएर खेलकुदको विकासका लागि सेभेन साइजको पर्शुराज राई बहुउद्देश्यीय खेलमैदान निर्माण गरेका हुन् ।

स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति र रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट आर्थिक सहयोगमा सङ्कलन भएको रु दुई लाख ५२ हजारको खर्चमा खेलमैदान निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपा राईले जानकारी दिनुभयो । भूतपूर्व बेलायती सेना पर्शुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो ।

निर्माणाधीन खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो । निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम पर्शुराज राई बहुउद्देश्यीय राखिएको छ । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको हो ।

खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने पर्शुराजको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मानसमेत गरिएको छ । स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राईलगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो ।

दश स्थानीय तह रहेको जिल्लाका हरेक वडामा खेलमैदान निर्माण गर्ने क्रम धमाधम भइरहेको छ । जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा एक–एकवटा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदान स्तरोन्नति सुरु गरिएको छ । एक नं प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा स्तरोन्नति थालिएको माटीकोरे खेलमैदान विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेर बोलपत्र आह्वानसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया