चेरीले सजिएको काठमाडौँ (फोटो फिचर)

  चैत ०१, २०७८

काठमाडौं, चैत १ : अहिले सङ्घीय राजधानी र मुलुकका अन्य केही पहाडी जिल्लामा चेरी ढकमक्क फुलेको छ। यतिखेर सडक वरपर सेता, गुलाबी र रातो रङ्गका फूलले रङ्गीचङ्गी देखिएपछि काठमाडौंलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ। नेपालमा हिउँदको सुरुवातसँगै फूल फुल्ने क्रम रोकिएपछि चेरी फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानीसमेत भनिन्छ।

पैयुँ जातको वृक्षबारे लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएका वनस्पती विभागका प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले नेपालका पैयुँ जातका वृक्ष विश्वमै फरक रहेको बताउनुभएको छ। नेपालमा पर्यटक आउने सिजनमा फुल्ने पैयुँका फूल हेमन्त ऋतु अर्थात् अटममा कुनै पनि देशमा फुल्ने गरेका छैनन्।उहाँले काठमाडौं उपत्यकामा पैयुँका विरुवा प्राकृतिक तथा सांस्कृतिक रुपमै महत्वपूर्ण रहेको बताउनुभयो।

पैयुँको विरुवा कसैसँग आयत गरेर ल्याएको विरुवा नभएको र नेपालको रैथाने वृक्ष भएको डा. श्रेष्ठले बताउनुभयो।उहाँले विश्वका कुनै पनि देशमा नफुल्ने सिजनमा नेपालमा पैयुँको फूल फुल्नु यसको सबैभन्दा उत्तम गुण रहेको बताउनुभयो।

नेपालमा १५ किसिमका आरु प्रजाति (प्रुनस) पाइन्छन्।काठमाडौंका सडकमा प्रनुस प्रसिका, प्रनुस सेरासोइड (पैयुँ), प्रनुस सेर्सीफेराका विभिन्न उपप्रजाति रोपिएका छन्। वनस्पति विभागमा काम गरेको समयमा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पैयुँ जातको बिरुवा रोप्न र सडक विभागसँग समन्वय गरेर सडक किनारामा पैयुँ जातका बिरुवा रोप्न सिफारिस गरिएको उहाँले बताउनुभयो।

काठमाडौं उपत्यकामा मनाउने चाडपर्वमा समेत पैयुँका काठ तथा हाँगाविँगाको प्रयोग हुँदै आएको डा.श्रेष्ठले बताउनुभयो। तराई तथा मधेसमा बाघ, चितुवा र भालुलाई खोरमा थुन्नका लागि पैयुँको काठको प्रयोग हुने गरेका छन्।

नेपाल सरकारले सडक छेउमा समेत पैयुँका बिरुवा रोपेको छ।पैयुँको वैज्ञानिक नाम प्रनस सिरास्वाइडिस भएको प्राज्ञिक डा. श्रेष्ठले बताउनुभयो।धार्मिक रुपमा विवाहको मण्डप तथा ब्रतवन्धका बटुकले भिक्षा माग्ने क्रममा पैयुँको लौरो प्रयोग गर्छन्।

त्रेतायुगमा राम वनबास गएको समयमा रामले पैयुँको लौरो प्रयोग गरेकै कारण धार्मिक कार्यमा पैयुँको प्रयोग हुने गरेको तथ्य रहेको महेश पौडेलले बताउनुभयो। नेपालमा पाइने पैयुँ रैथाने प्रजाती हो।पैयुँको वृक्ष आफैमा सफाई खोज्छ।विगत वर्षदेखि सडकका छेउमा रोपिएका पैयुँका रुखमा फूल कम फुल्नुको कारण वातावरण फोहोर बन्दै गएको प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठले थप्नुभयो।

भृकुटीमण्डप र चक्रपथ क्षेत्रका तस्बिर

तपाईको प्रतिक्रिया