काठमाडौँ, फागुन ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताउनुभएको छ । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित जनभावना क्याम्पसको ३१औँ वार्षिकोत्सव तथा डिजिटल जुम स्टुडियो फर इन्टरनेशनल कन्फरेन्स एवं जेबिसी खबर डटकमको उद्घाटन गर्दै आज उहाँले त्रिभूवन विश्वविद्यालयअन्तर्गत क्याम्पसलाई समयमै सुधार नगरे गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “यहाँका विश्वविद्यालय सुधार गर्न सरकार मात्रै नभएर सामूहिकरूपमा अघि बढ्नुपर्ने देखिन्छ । शिक्षालाई परम्परागतरूपमा मात्रै नभएर प्रविधिमार्फत पनि अघि बढाउनुपर्ने भएको छ ।” शिक्षा सुधारका लागि आफूहरूले चार ऐन बनाएर विभिन्न निकायमा छलफलका लागि पठाएको उहाँको भनाइ छ । मुलुकमा अघि बढिरहेको माध्यमिक शिक्षा सुधारका लागिसमेत मन्त्रालयले काम अघि बढाइरहेको पौडेलले बताउनुभयो ।
“जमलस्थित केशर पुस्तकालयमा रहेका दस्तावेज आफूहरूले सङ्कलन गरी यसलाई प्रविधिमैत्रीमा रुपान्तरणसमेत गर्ने योजना अघि बढाएका छौँ”, उहाँले थप्नुभयो, “यस क्याम्पस वनमा फुल्ने लालिगुराँस झैँ मुलुकको सुन्दर क्याम्पस बनोस् भन्ने हामी चाहान्छौँ ।” मुलुकमा थुपै प्रशासनिक तथा कानुनी जटिलतासमेत रहेको उल्लेख गर्दै उहाँले मन्त्रालयले अघि बढाएका शिक्षाका योजनाले केही समयपछि पूर्णता पाउने दाबी गर्नुभयो ।
ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले सो क्याम्पसले विश्वविद्यालय तहको शिक्षा प्रदान गर्ने अपेक्षा बोकेर अघि बढ्दा नगरपालिकाले उपलब्ध गराएको जमिनमा नयाँ भौतिक पूर्वाधार निर्माणका लागि आफूलेसमेत मन्त्रालयमार्फत बजेटको अपेक्षा गरेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकका सामुदायिक क्याम्पसको गुणस्तर सुधार गरी निजीतर्फ आकर्षित हुनेक्रम घटाउन जरुरी छ ।” देशका कुनै पनि विद्यालय तथा क्याम्पस मात्रै प्रमाणपत्र बिक्री गर्ने कारखाना नबनोस् भन्ने उहाँको मत थियो ।
विश्वविद्यालय अनुदान आयोग ९युजिसी० का अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले मुलुकमा कुल एक हजार ४३७ सामुदायिक क्याम्पस रहेको जानकारी गराउँदै सोमा ५७ क्याम्पसमध्ये जनभावनाले सो आयोगमार्फत नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९क्युएए० गत २०७६ पुसमा प्राप्त गरी सो भेगका बालबालिकाको जीवनमा ज्योति भर्ने काम गरेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमै सञ्चालन रहेका हरेक तवरका क्याम्पसले अनुसन्धानमा खासै ध्यान दिएको नदेखिँदा यसतर्फ जोड दिनुपर्नेछ ।”
त्रिविका शिक्षाध्यक्ष सिवलाल भुसालले जनभावनमा भएको शिक्षा सुधारका कामले आफूहरूसमेत गौरवान्वित भइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आज शिक्षामा गरिएको लगानीले भोलिको मुलुक कस्तो बन्छ भन्नेतर्फ मध्यनजर गर्न जरुरी छ ।” त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा चित्रबहादुर बुढाथोकीले मुलुकमा अझै पनि परम्परागत शिक्षा कायाम रहेको दुखेसो गर्दै आधुनिक शिक्षा प्रदानमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफूहरूले लिएको नारा गोदावरीलाई सदैव शिक्षा र स्वास्थ्यमा अघि बढाउने योजनाबमोजिम सो क्याम्पसको सहयोगमा विश्वविद्यालय खडा भएको हेर्ने इच्छा रहेको बताउनुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले नगरपालिकाले शिक्षातर्फ छुट्याएको बजेट एकदमै कम रहेको जानकारी गराउँदै सो नगरपालिकालाई आएकामा १० प्रतिशतका साथै सङ्घीय कूल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्न आग्रह गर्नुभयो ।
सो क्याम्पस सञ्चालक समितिका कार्यवाहाक अध्यक्ष रविन्स शर्माले जनभावनामा संस्कारसहितको शिक्षा एवं प्रविधिमैत्री शिक्षा कायम गर्नका लागि आफूहरूले आउँदो शैक्षिकसत्रमा त्यसैअनुरूपको वातावरण निर्माण गर्ने योजना बनाइरहेको जानकारी गराउनुभयो । क्याम्पस प्रमुख शिवराज सञ्जेलले उच्च शैक्षिक जनशक्तिको केन्द्र बनाएर स्वायतताको कार्यक्रम सञ्चालन गरी मुलुककै नमूना क्याम्पसका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा क्याम्पसमा अक्षयकोष खडा गर्न सहयोग गर्ने दाता एवं क्याम्पसमार्फत उच्च नतिजा हासिल गर्न सफल विद्यार्थीका साथै क्याम्पसस्तरीय विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
–––