धनगढी, फागुन ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रकाश सपुतको गीत ‘पीर’को विषयमाथि विरोध गर्नु आवश्यक नभएको बताउनु भएको छ ।
कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले गीतको विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताउनु भएको हो ।
पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताउनु भयो ।
“मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ,” उहाँले भन्नुभयो ।
कार्यक्रमको व्यस्तताले त्यो गीत आफूले पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको उहाँले बताउनु भयो । प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे ।
माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने उहाँको भनाई थियो ।
माओवादी युद्धका धेरै आयाम तथा पक्ष र धेरै मर्महरु रहेको उहाँले बताउनु भयो ।