आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुँयाललाई

  फागुन २८, २०७८

काठमाडौँ, फागुन २८ : दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुँयाल विजयी हुनुभएको छ । यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती एअरलाइन्सले आयोजना गरिएको दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा फुँयाल विजयी हुनुभएको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा फुँयालले ४३ स्टेबलफोर्ड प्वाईन्ट ल्याएर विजयी हुनुभएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । फुँयालले उपाधीसँगै एल्टिच्यूड एअरको हेलिकप्टर राइड, माउण्टेन फ्लाइट र सोलुखुम्बुमा चारजनाको लागि ब्रेकफाष्ट गर्ने अवसर पाउनुभएको छ ।

प्रतियोगिताको उपविजेता निष्कर्षबहादुर घले हुनुभएको छ । उहाँले उपाधि ४२ प्वाइन्ट ल्याएर उपविजेता बन्नुभएको हो । उपविजेता बनेसँगै घलेले दुई रात तीन दिन चितवनस्थित कसरा जङ्गल रिसोर्टमा बस्ने र जाने आउने हवाई सुविधा प्राप्त गर्नुभएको छ । उक्त हवाई टिकटको व्यवस्था भने गुण एअरलाइन्सले गरेको हो । विभिन्न ११ विधामा भएको गल्फ प्रतियोगितामा मिथुन राई, गीता गुरुङ, प्रतिभा राई, दिलिप रायमाझी, सटिना टण्डन, महेशविक्रम कार्की, चार्ली गुरुङ र झलेन्द्र भट्टराईलगायत विजयी हुनुभएको प्रवक्ता बर्तौलाले बताउनुभयो ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा १५२ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा विजयी खेलाडीलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुहित र हिमालय एअरलाइन्सका प्रमुख शु एन होङले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा उठेको रकम यती एअरलाइन्सकी प्रबन्ध निर्देशक शेर्पाले महिला अधिकारको लागि कार्यरत संस्थाहरू वुमेन फर ह्युमन राइट्स र सी नेपाललाइ हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा रु तीन लाख चार हजार सङ्कलन भएको थियो ।

तपाईको प्रतिक्रिया