मेयर कप क्रिकेटमा थालिगडा र देहिमाडौँ विजयी

  फागुन २७, २०७८

बैतडी, फागुन २७ : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडा र वडा नम्बर २ देहिमाडौँ विजयी भएका छन् । थालिगडाले वडा नम्बर ८ त्रिपुरालाई पाँच रनले हरायो भने देहिमाडौँले वडा नम्बर १ गुरुखालालाई छ विकेटले पराजित गरेको हो ।

थालिगडाले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन मात्रै बनाउन सक्यो । त्रिपुराका लागि मनिष धामी र महेन्द्र मार्कण्डले अर्धसतकीय पारे खेले पनि हार टार्न सकेनन् । मनिषले ७८ र महेन्द्रले अविजित ७७ रन जोडे । थालिगडाका जितेन्द्र रावलले दुई विकेट लिए ।

त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको थालिगडाले २० ओभरमा छ विकेटको क्षतिमा २१२ बनायो । उसका लागि लोकेन्द्र सिंह रावलले ५६ र विक्रम कार्कीले नटआउट ५० रन हिर्काएका थिए । त्रिपुराका लागि जगदीश मौनी र मुकेश थापाले दुई÷दुई विकेट झारे । खेलका म्यान अफ द म्याच थालिगडाका लोकेन्द्रसिंह रावल चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिए ।

यस्तै अर्को खेलमा दशरथचन्द–२ देहिमाडौँले वडा नम्बर १ गुरुखोलालाई छ विकेटले हराएको छ । गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौँले ७.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । देहीमाडौँका लागि भुपेन्द्र रावतले नटआउट ४४, दीपक बोहरा ३२ र सन्तोस बिजलेले ३० रन जोडे । गुरुखोलाका हरिश भाटले दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको गुरुखोला १७।४ ओभरमा १११ रनमा समेटियो । गुरुखोलाका लागि सुरेश भाटले ३३, दीपक भट्टले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् । देहिमाडौँका दीपक बोहराले चार, सन्तोस बिजलेले दुई विकेट झारे । खेलका म्यान अफ द म्याच देहिमाडौँका दीपक बोहरा भए ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ । प्रतियोगितामा सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगरक्रिकेट समितिले जनाएको छ ।

उपाधि विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो ।

तपाईको प्रतिक्रिया