सस्तो मूल्यमा आईफोन सार्वजनिक हुने अनुमान

  फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : आज एप्पलले एक इभेन्ट गर्दैछ, जहाँ कम्पनीले फाइभजी सपोर्ट सहितको आईफोन एसई र नयाँ आईप्याड एयर सार्वजनिक गर्ने चर्चा छ ।

यो इभेन्ट पिक पर्फर्मेन्स ट्यागलाइन सहित आयोजना हुनेछ । एक विश्वसनीय एप्पल लिकरका अनुसार आईफोन एसईमा फास्टर प्रोसेसर र सुधारिएको क्यामेरा हुनेछ ।

नेपाली समयअनुसार बेलुका ११ः४५ बाट कार्यक्रम सुरू हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण एप्पल डटकम वा एप्पल टिभी एपबाट हेर्न सकिन्छ ।

यी हुन् सार्वजनिक हुनसक्ने सम्भावित उत्पादन

आईफोन एसई फाइभजी

यस वर्ष सार्वजनिक हुने आईफोन एसई र सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईबीच धेरै भिन्नता नहुने बताइएको छ । आईफोन एसई आईफोन एटपछि सार्वजनिक गरिएको फोन हो ।

जसमा ४.७ इन्चको एलसीडी डिस्प्ले, धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचरहरू रहेका छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध हुनेछैन ।

ए १५ चिपमा आधारित हुने यो फोन ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोन एप्पलको अहिले सम्मकै सस्तो फोन हुने बताइएको छ ।

आईप्याड एयर

मार्च ८ इभेन्टको अर्को आकर्षण हुनेछ, आईप्याड एयरको नयाँ भर्सन । आईफोन एसईमा जस्तै यसको डिजाइनमा केही नयाँ परिवर्तन भने हुनेछैन । यद्यपि यो नयाँ रङ्गहरूमा सार्वजनिक हुने अनुमान छ ।

एप्पलले आईप्याड एयरलाई पनि ए१५ चिपमा अपग्रेड गर्दैछ । साथै यसमा फाइभजी नेटवर्कको सपोर्ट दिइएको छ । यसको मूल्य ५९९ अमेरिकी डलर हुने अनुमान छ ।

म्याक मिनी

एम १ चिप सहित यस पटक एप्पलले म्याकको मिनी भर्सन पनि सार्वजनिक गर्ने बताइएको छ । म्याक मिनीमा एम १ प्रो  र एम१ म्याक्स चिप प्रयोग गरिने बताइएको छ ।

जसमा १० कोर सीपीयू, आठ हाई पावर कोर र दुई हाइ इफिसियन्सी कोरहरू उपलब्ध हुनेछन् । प्रो चिपले ३२ जीबीसम्मको र्‍याम सपोर्ट गर्छ भने एम१ म्याक्सले ६४ जीबी सम्मको र्‍याम सपोर्ट गर्न सक्छ । यो पटकको म्याक मिनी नयाँ रङ्ग र नयाँ डिजाइनमा उपलब्ध हुने बताइएको छ ।

१३ इन्चको म्याकबुक प्रो

बजारमा चलिरहेका चर्चा अनुसार यस पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोको अपडेटेड भर्सन पनि सार्वजनिक गर्दैछ । यसमा एप्पलले एम २ चिप प्रयोग गर्ने बताइए पनि अहिलेसम्म यस विषयमा कुनै निश्चित कुरा भने बाहिरिसकेको छैन ।

यो पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोमा १२० हर्जको रिफ्रेश रेट उपलब्ध गराउने पनि बताइएको छ । यद्यपि यस विषयमा धेरै जानकारी भने बाहिरिएको छैन ।

 

तपाईको प्रतिक्रिया