झापा र मोरङ फाइनलमा

  फागुन २३, २०७८

उर्लाबारी, फागुन २३ : नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा आयोजना गरेको ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ को उपाधि भिडन्त झापा र मोरङ बीच हुने भएको छ । मोरङको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमाझापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् ।

पहिलो खेलमा झापाले मधेश प्रदेशको सप्तरीलाई दुई सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापाले लिगमा सबै खेलमा विजयी प्राप्त गरेको छ । सप्तरीले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । टस जितेर पहिले ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा दुई विकेट गुमाई दुई सय ६० रनको विशाल स्कोर बनाएको थियो ।

झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गर्नुभयो । काजलले एक सय दुई रनको अविजित पारी खेल्दा ६४ बलमा १७ चौकाको योगदान दिनुभयो । झापाकी अपसरी वेगमले अर्ध शतक पुरा गर्नुभयो । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिँदा झापाका दुई खेलाडी रन आउट भएका थिए ।

दुई सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरी १९.२ ओभरमा सबै विकेटको क्षतिमा २७ रनमा समेटियो । सप्तरीका कुनै पनि खेलाडीले दोहोरो अङ्कको स्कोर तयार गर्न सकेनन् । झापाकी एलीसा खडियाले चार ओभर बलिङ गर्दै विना रन चार मेडन राख्नुभयो । खेलको ‘वुमेन अफ दि म्याच’ झापाकी शतक प्रहार गर्ने काजल घोषित हुनुभयो ।

दोस्रो खेलमा मोरङले सुनसरीलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाउनुभयो । मोरङकी कप्तान अन्सु जैसवालले तीन र टिका साहले दुई विकेट लिनुभयो ।

एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मोरङले १८.३ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष भेट्टायो । मोरङकी सानु राजवंशीले अविजित ४५ र नविता राजवंशीले पनि अविजित १८ रन बनाउनुभयो । सृजना राजवंशी २४ रनमा आउट हुनुभयो । सुनसरीकी प्रिया मलाहाले एक विकेट लिनुभयो । मोरङकी रानु ‘वुमेन अफ दि म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

तपाईको प्रतिक्रिया