पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न अनुमति

  फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि अदालतबाट ७ दिनको समय लिएर बयान तथा अनुसन्धान गरिरहेको प्रहरीले अब थप १२ दिनको समय पाएको हो । कलाकार शाह आइतबारदेखि दमौलीको हिरासतमा थुनामा हुनुहुन्छ । उहाँविरुद्ध नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा परेको थियो ।

अभिनेता शाह गत फागुन १५ गते पक्राउ पर्नु भएको थियो । उहाँ आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुभएका थियो । पक्राउ परेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फागुन ११ मा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उहाँको खोजी सुरु गरेको थियो । तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया