काठमाडौं, फागुन २२ : कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ संक्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डमा समेत खुकुलो भएको छ । तर पर्यटन रिकभरीका नयाँ योजनाहरु बन्न नसक्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन अझै समय लाग्ने देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र निजी क्षेत्रबाट सञ्चालित नेपाल पर्यटन बोर्ड लगायतका निकायले पर्यटन प्रवद्र्धन र रिकभरी योजना अझै बनाउन नसकेको नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले बताउनुभयो । यसअघिनै विश्वभरनै खुला भई सकेको जानकारी भए पनि तत्कालिन र दीर्घकालिन योजना बनाउन नसक्दा पर्यटन क्षेत्र अझै एक वर्ष पर धकेलिने उहाँको भनाई छ ।
पर्यटन मन्त्रालयले भने यसअघि पर्यटन व्यवसायी राजाराम गिरीको संयोजकत्वमा मन्त्रालका प्रतिनिधि सहित गठित प्राविधिक समिति गठन गरेको थियो । सो समितिले प्रतिवेदन तयारी गरी मन्त्रालयलाई बुझाइ सकेको छ । उक्त प्रतिवेदनको आधारमा विभिन्न मन्त्रालयका प्रतिनिधि सहित पर्यटन मन्त्रीको अध्यक्षतामा गठित समितिले थप निर्णय गरेर मात्र योजना तय गर्ने पर्यटन महाशाखाका प्रमुख सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । तत्काल पुर्नउत्थानका कार्यक्रमहरु नभए पनि नियममित गतिविधिलाई थप प्रभावकारी बनाउँदै लगिएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
यता निजी क्षेत्रबाट पर्यटन क्षेत्रको प्रवद्र्धनको जिम्मा पाएको नेपाल पर्यटन बोर्डले भने रिकभरी योजना र प्रवद्र्धनका विषेश कार्यक्रम तय भई नसकेको सहप्रवक्ता मणीराज लामिछाने बताउनुभयो । तर विदेशमा बजार विस्तार, पर्यटन प्रवद्र्धनात्मक गतिविधि र विश्वभर डिजिटल प्रमोसनका गतिविधि भने निरन्तर गर्दै आएको लामिछाने बताउनुभयो । बोर्डले यसैसाता मात्र बंगलादेश टुरिजम बोर्डसँग मिलेर विजनेस एक्सचेन्ज कार्यक्रम, बंगाली ट्राभल मार्ट, निजी व्यवसायीहरुसँग सहकार्य गरेर नेपालगञ्जमा वेष्ट ट्राभल मार्ट आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
अनराइवल भिसा नदिदाँ पर्यटक बुकिङ रद्द
पीसीआर जाँच, सीसीएमसी फारम अनिवार्य गरे पनि कोरोना खोप नलगाएकाहरुले सम्वन्धित देशबाटै भिसा लगाएर आउनु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले नेपालको कुटनीतिक नियोग नभएका देशका पर्यटकले भिसा लगाउन अन्यत्र जानु पर्ने र धेरै समय लाग्ने भन्दै यस अघि भएका बुकिङहरु रद्द गर्ने गरेको व्यवसायीहरुले जनाएको छ ।
एक देशको दुतावासले चार वटा देशसम्म हेर्नु पर्ने र नेपाल प्रवेशमा भिसा लिन दुतावास नभएका देशले अन्यत्र गएर लिनु पर्ने व्यवस्थाले गर्दा बुकिङ रद्द गरी अन्य देशको भ्रमणमा जाने गरेको पर्यटन व्यवसायी लाक्पा शेर्पाले जानकारी दिनुभयो । तत्काल सरकारले यो व्यवस्थालाई सुधार गरेर अनअराइभल भिसाको व्यवस्था गर्नु पर्ने उहाँको सुझाव छ , होइन भने नेपाल आउने पर्यटकको संख्यामा कमी हुने उहाँको भनाई छ ।
सरकारले नेपाल आगमनलाई सहज बनाएर पर्यटन क्षेत्रको प्रवद्र्धनात्मक योजनाहरु ल्याउनु पर्ने पर्यटन व्यवसायी तथा होटल एसोसिएसनका बरिष्ठ उपाध्यक्ष विनायक शाह बताउनुभयो । आउने हिउँददेखि पुरानै गतिमा पर्यटन क्षेत्र फर्कने विश्वास व्यवसायीहरुले राखे पनि सरकारले आगमनलाई सहज बनाउन नसक्दा अझै अन्यौलनै भएको उहाँले बताउनुभयो । कोरोना महामारीकै बीचमा पनि पर्वतीय पर्यटकको संख्या भने उच्च रहेको थियो भने पदयात्री पर्यटकको संख्यामा भने कोरोना महामारी अघिको तुलनामा कमी आएको छ ।
पर्यटक आगमनमा सरकारी नियमनै बाधक
कोरोना भाईरस(कोभिड–१९) संक्रमणदर कम हुँदै गए पनि सरकारले नेपाल प्रवेश गर्ने नियमहरु खुकुलो नबनाउदाँ पर्यटक आगमनमा बाधा पुग्दै आएको छ । अधिकांश राष्ट्रले विमानस्थलमा आवागमनलाई सहज बनाए पनि नेपाल प्रवेशमा भने अझै कडाइ गर्दै आएको छ ।
नियम परिमार्जन नहुदाँ पर्यटकको आगमन र बुकिङमा बाधा पुगेको व्यवसायीहरुले बताएका छन् । अझै पनि नेपाल प्रवेशमा अनिवार्य पीसीआर जाँच गरी नेगेटिभ रिपोर्ट, सीसीएमसी फारम अनिवार्य भर्नु पर्ने र खोप नलगाएका पर्यटकले सम्बन्धित क्षेत्रबाटै भिसा लगाएर आउनु पर्ने जस्ता व्यवस्थाले पर्यटकलाई झन्झट हुने गरेकाले आगमनमा बाधा पुगेको छ ।
अन्य देशको तुलनामा नेपाल प्रवेशमा निकै झन्झट हुने गरेको र कर्मचारीले सहज बनाइ दिनभन्दा पनि उल्टो दुव्र्यवहार गर्ने गरेको अमेरिकाबाट नेपाल आउनुभएका स्याङमु शेर्पाले गुनासो गर्नुभयो । कोरोना संक्रमण विश्वभरनै कम भएको छ, वेलायतले पूर्ण रुपमा आवतजावतलाई सहज बनाएको छ, तर नेपाल आउन निकै झन्झटिलो प्रक्रिया अपनाउनु पर्ने बाध्यता रहेको गुनासो बड्दै गएको छ । यो व्यवस्थालाई परिमार्जन नगरे तत्काल नेपालमा पर्यटकको संख्या बृद्धि हुने सम्भावना छैन तर सहज व्यवस्था भए आउने हिउँदसम्ममा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कने पर्यटन व्यवसायी एवं टानका पूर्व अध्यक्ष सीताराम सापकोटा बताउनुहुन्छ । पर्यटकको बुकिङको धमाधम भएकाले तत्काल नयाँ व्यवस्था लागु गर्नु पर्ने उहाँले माग गर्नुभयो ।
नयाँ व्यवस्था ल्याउने बारे सिसिएमसीले निर्णय नगरेको र पुरानै व्यवस्थालाई अनुसरण गरेर काम गर्दै आएको अध्यागमन विभाग, पर्यटक भिसा साखाका अधिकृत जनार्दन रिजालले बताउनुभयो । संक्रमणदर कम भएपछि कार्यन्वयनको अवस्था फितलो भएको छ, यसै अवस्थालाई हेर्दा नयाँ व्यवस्था ल्याए पर्यटकका लागि सहज हुने उहाँको भनाई छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् १९१९ मा एक लाख दुई हजार ४२३ जना नेपाल भित्रिएपनि नेपाल भ्रमण वर्ष २०२० मा भने ९८ हजार १९० जना मात्र भित्रिएका थिए भने सन् २०२१ मा १ लाख ५० हजार ९६२ पर्यटक भित्रिएका गोराखापत्र अनलाइनमा उल्लेख छ ।