पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै

  फागुन १९, २०७८

काठमाडौँ, फागुन १९ : नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले आवश्यक अध्ययन सम्पन्न गरेको हो ।

यसअघि टेलिकमले फोरजी सेवाका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन्स सर्भिस इन्टरनेसनल (सीसीएसआई) सँग सम्झौता गरेको थियो । सोही सम्झौतामा नयाँ प्रविधि ‘फाइभजी’ समेत देशको केही सहरमा परीक्षण गर्नुपर्ने प्रावधान राखिएको थियो ।

सोही प्रावधानका आधारमा कम्पनीले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण गर्नेगरी भेन्डरसँगको काम अघि बढाएको हो । यसका लागि भेन्डर र टेलिकम दुवैतर्फबाट आवश्यक अध्ययन सम्पन्न भइसकेको टेलिकम स्रोतले जनाएको छ ।

‘अबको एकदुई दिनमै यसको माइन्युट सम्पन्न गरी प्रक्रिया अघि बढाउँदै छौँ,’ टेलिकम स्रोतले भन्यो, ‘लगत्तै सामान आयातको काम अघि बढ्नेछ । त्यसमध्ये कोर अन्तर्गतको सामान चाँडै काठमाडौं आइपुग्नेछ । किन भने कोरतर्फ सफ्टवेयरमात्रै आपूर्ति गरिने हो ।’

र्‍यानको हकमा केही सामान नै ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्ने बताइएको छ । तर, त्यसका लागि समेत आवश्यक सम्पूर्ण प्रक्रिया भने पूरा भइसकेको छ ।

कम्पनीको योजना अन्तर्गत अबको दुईतीन महिनाभित्र कोर तथा र्‍यानका सम्पूर्ण सामान काठमाडौं आइसक्नेछन् । त्यसपश्चात् जडान गरी परीक्षणको प्रक्रिया अगाडि बढ्नेछ ।

यस हिसाबले अबको तीनचार महिना अथवा ढिलोमा यो आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण काम सम्पन्न गरी परिक्षण सुरु गर्ने तयारी रहेको टेलिकमका एक उच्च अधिकारीले जानकारी दिनुभयो। यसअघि सरकारले टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

सोही अनुरूप दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ । जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

हुन त टेलिकमले फाइभजी परीक्षणको व्यवसायिक प्रस्ताव प्राधिकरणलाई पठाउँदा २६०० सय मेगाहर्ज ब्याण्डमा १०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग अघि सारेको थियो । तर, नियामकले भने ६० मेगाहर्ज मात्रै फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ ।

सोही फ्रिक्वेन्सीमा आधारित भएर अब टेलिकमले नेपालमा फाइभजीको परीक्षण गर्नेछ । फाइभजी परीक्षणको सुरुवात काठमाडौंबाट हुने स्रोतले जनाएको छ ।

‘हामीले पहिलो चरणमा काठमाडौंबाट यसको परीक्षण गर्ने योजना बनाएका छौँ,’ स्रोतले भन्यो, ‘दोस्रो चरणमा पोखरा र तेस्रो चरणमा देशको कुनै ग्रामीण भेगमा यसको परीक्षण हुनेछ ।’

उक्त परीक्षणबाट आएको परिणामको आधारमा टेलिकमले आगामी दिनमा फाइभजीको व्यवसायिक परियोजना अघि बढाउने छ ।

कम्पनीले यसरी फाइभजीको परीक्षणका लागि प्रक्रिया अघि बढाउँदै गर्दा अर्को ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भने हालसम्म परीक्षणका लागि अनुमति नै पाउन सकेको छैन । यद्यपि उसले पनि परीक्षणको अनुमतिका लागि सरकार समक्ष आवेदन भने दिइसकेको छ ।

तपाईको प्रतिक्रिया