चैत दोस्रो साता ‘इस्ट ट्राभल मार्ट’ हुने

  फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : पूर्वी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इस्ट ट्राभल मार्ट आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आगामी चैत ११ देखि १३ गतेसम्म मार्ट आयोजना गर्न लागेको हो । पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त मार्ट आयोजना गर्न लागिएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

सुनसरीको धरान गल्फ क्लबमा आयोजित एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको कार्यक्रममा बोर्डका प्रमुख रेग्मीले मार्टको घोषणा गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, धरान नगरपालिकाका प्रमुख तिलक राई, बोर्डका कार्यकारी प्रमुख रेग्मीसहित विभिन्न कर्पोरेट क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

पूर्वमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै बोर्डका प्रमुख डा रेग्मीले ट्राभल मार्टको आयोजनाले यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । पूर्वी नेपालको पर्यटन क्षेत्रलाई स्थानीय तथा क्षेत्रीय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत केही वर्षदेखि पर्यटन बोर्डले स्थानीय सरोकारवालाको सहकार्यमा इस्ट ट्राभल मार्टको आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थानबाट करिब ५०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा गल्फ प्रतियोगिताका विजेता राजकुमार राईलाई ट्रफी हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया