काठमाडौँ, फागुन १५: दशरथचन्द नगरपालिकामा पाँचौँ संस्करणको ‘मेयर कप पुरुष टि-ट्वान्टी क्रिकेट प्रतियोगिता’ अर्को हप्तादेखि सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना यही फागुन २५ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।
सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार समूह ‘ए’ मा वडा नं ४, ९ र ३ समूह ‘बी’ मा वडा नं ५, ११ र ७, समूह सी मा १०, २ र १ र समूह डी मा वडा नं ६ र ८ छन् । उद्घाटन खेलमा फागुन २५ गते वडा नं ४ र ९ भिड्ने छन् । फागुन २६ गते वडा नं १० र २ तथा वडा नं ९ र ३ बीच खेल हुनेछ ।
यस्तै फागुन २७ गते पहिलो खेल वडा नं २ र १ बीच तथा दोस्रो खेलमा वडा नं ८ र ६ ले प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते वडा नं ४ र ३ तथा वडा नं ११ र ७ भिड्ने छन् । फागुन २९ गते पहिलो खेलमा वडा नं ८ र ६ तथा दोस्रो खेलमा वडा नं १० र १ बीच प्रतिस्पर्धा हुनेछ । फागुन ३० गते वडा नं ५ र ७ तथा वडा नं ५ र ११ बीच खेल हुने संयोजक भट्टले बताउनुभयो ।
आगामी चैत १ गते सेमिफाइनलका खेल तथा चैत २ गते फाइनल खेल हुने छ । विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार बर्सेनि मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिँदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । गत वर्ष चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ४ खलङ्गाले जितेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने भएको छ ।