काठमाडौँ, फागुन ११ : अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । १७ वर्षीया एक गायिकाको उजुरी बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको हो ।
गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ । शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
निज गायिका र पलबीच भएको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ । उक्त अडिओमा दुईबीच शारीरिक सम्बन्ध भएको बुझिन्छ । कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ। तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भीक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।