काठमाडौँ, फागुन ८ : अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले आगामी असोज १४ गतेलाई यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।
दशैंका लागि प्रदर्शन मिति तय गरिएको भएपनि ‘हनी बनी’को छायांकन भने अझै सुरु भएको छैन । दिवाकर भट्टराईले निर्देशन गर्ने ‘हनी बनी’मा अनमोल मुख्य भूमिकामा देखिनुहुनेछ अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । केही दिनअघि मात्र अनमोल र सलोनलाई चलचित्रमा अनुबन्ध गरिएको हो ।
एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहने छ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुनुहुन्छ ।
यो चलचित्र लभस्टोरी जनरामा बन्ने बताइएको छ । अनमोलको फरक भूमिका देख्न सकिने जानकारी दिइएको छ ।