फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ लिटरको ?

  फागुन ०७, २०७८

काठमाडौँ, फागुन ७ : नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८/१ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५.६१ ले बढेको, डिजेल रु ५.६२ ले बढेको र हवाई इन्धन रू ४.९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया