काठमाडौँ, फागुन ६ : रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान विमानस्थलमा पुगिसकेको छ ।
आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने जानकारी दिइएको छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
१० दिन प्राविधिक परीक्षण उडानपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यवसायिक उडानको तयारी सुरु हुने छ । सरकारले जेठ २ गते देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार साँझ भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणले सही ढंगले काम गरे/नगरेको जाँच गर्नेछ ।