काठमाडौं, माघ २९ : नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता आगामी चैत २४ देखि २६ गतेसम्म हुने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ) गरी १० टोलीको सहभागिता रहनेछ । एकल र टोली कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ११० र महिलामा १०० गरी २१० खेलाडीको सहभागिता रहनेछ ।
टोली च्याम्पियनले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपाल कराते महासङ्घका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिनेसमेत बताउनुभयो । करातेका प्रमुख प्रशिक्षक हीरासिंह डङ्गोलले प्रत्येक तौल समूहबाट चार खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्षसमेत रहनुभएका प्रतियोगिताका मुख्य योजनाकार मीनकृष्ण महर्जनले कोभिडले सुस्ताइरहेको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिताले मद्दत पुग्ने जनाउँदै खेलाडीको मनोबल उकास्न पनि प्रतियोगिता सहयोगी साबित हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछन् ।