काठमाडौँ, माघ २८: निक्षेपमा ब्याजदर निर्णय स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्तीमार्फत महासंघले यस्तो आग्रह गरेको हो ।
कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको महासंघले बताएको छ ।
‘एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको बिक्री वितरणबाट उठ्नु पर्ने रकमसमेत बजारबाट उठ्न सकिरहेको अवस्था छैन,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको उल्लेख गरिएको छ ।
अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने महासंघले उल्लेख गरेको छ । यसले गर्दा सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा चिन्ता व्यक्त गरेको छ ।
‘हरेक त्रैमासमा निक्षेपमा व्याज दर बृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ । यसरी व्याज दरमा अस्थिरता कायम रहंदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने हाम्रो बुुझाई छ,’ विज्ञप्तिमा भनिएको छ ।
ब्याजदर बृद्धिबाट तरलता समस्या समाधान नहुने महासंघले जनाएको हो ।
ब्याजदर बृद्धिका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने हुँदा ध्यान दिन महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको हो ।
्