यू–१९ विश्वकप क्रिकेट विजेता खेलाडीलाई जनही ४० लाख भारु

  माघ २३, २०७८

काठमाडौँ, माघ २३ : यू–१९ विश्वकप क्रिकेट उपाधि विजेता भारतीय खेलाडीले जनही ४० लाख भारु पुरस्कार पाउने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले आइतबार टोलीका प्रत्यके खेलाडीलाई जनही ४० लाख भारु प्रदान गर्ने घोषणा गरेको हो ।

बिसिसिआईले टोलीका प्रशिक्षक र सहयोगी अफिसियललाई जनही २५ लाख भारु प्रदान गर्ने पनि जनाएको छ । वेस्टइन्डिजमा शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले इङ्ल्यान्डलाई चार विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि एक सय ९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४४.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो । भारत पाँचौँ पटक यू–१९ विश्वकप च्याम्पियन बनेको हो । भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा च्याम्पियन बनेको थियो ।

तपाईको प्रतिक्रिया