काठमाडौँ, माघ २२ : स्पेनिस ला लिगाको २३औँ राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो ।
एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गर्नुभयो । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । २९औँ मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाउनुभयो ।
गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाउनुभयो । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन । गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ हुनुभयो । जितसँगै गेटाफे १४औँ स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अंक छ ।
पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ । अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अंक पुगेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अंक छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ ।