भादगाउँ, पुस ३ : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युत्को खपत बढाउने चुनौती रहेको बताउनुभएको छ ।
भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उहाँले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत्को खपत बढाउनुपर्ने बताउनुभएको हो ।
उहाँले विद्युतको खपत बढाउन आग्रहसमेत गर्नुभयो । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ”, उहाँले भन्नुभयो, “आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।”
आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताउनुभयो । “म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारिपूवर्क निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ”, उहाँले भन्नुभयो ।
कार्यकारी निर्देशक घिसिङ सम्मानित
उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पु¥याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ ।
लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताउनुभयो । नेपालमा अवसरै अवसर रहेको भन्दै उहाँले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताउनुभयो ।
उहाँले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले एक जिल्ला एक उत्पादनको अवधारणाका साथ अगाडि बढेकामा क्यासनेप फाउण्डेशनलाई सफलताको शुभकामना दिनुभयो ।