प्युठान, पुस ३ : माहुरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुनेमा स्थानीयले माहुरीपालनलाई व्यवसायिकता दिन थालेका छन् । परम्परागत रुपमा मुढे घारमा माहुरी पाल्दै आएका स्थानीयले सामुहिक रुपमा व्यावसायिक माहुरीपालनको शुरुवात गरेका हुन् ।
फुलवारी स्वाभलम्वन समूहका अध्यक्ष खिमा पुनले पहिलेदेखि गर्दै आएको माहुरीपालनलाई व्यवसायिक रुपमा अघि बढाउन समूह गठन गरी काम थालेको बताउनुभयो । “२० जना सदस्य मिलेर माहुरीपालन गरेका हौँ,” पुनले भन्नुभयो,“एक सय वटा आधुनिक घार माहुरी पालेका छौँ ।” सेरेना जातको माहुरी आधुनिक घारमा पालिएको उहाँले बताउनुभयो ।
माहुरी पालनका लागि समूहका सदस्यले तालिम समेत लिएका छन् । ३ दिने तालिम लिएको समूहका सदस्य मसला पुनले बताउनुभयो । माहुरीको हेरचाह समूहका सबै सदस्यले पालैपालो गर्ने गर्दछन् । यो सिजनको मह काटेर समूहले बेच्दै आएको छ । चिउरीलगायत फुल फुल्ने रुखविरुवा र जंगल नजिकै भएकाले जावुनेमा माहुरी पालनको राम्रो सम्भावना रहेको छ ।
प्रायः प्रत्येक स्थानीयको घरमा परम्परागत मुढे घार छन् । माहुरीका लागि आवश्यक पर्ने चिउरी प्रशस्त मात्रामा पाइने भएकाले माहुरीपालनको सम्भावना राम्रो रहेको स्थानीय प्रेम पुनले बताउनुभयो बताउनुभयो । “गाउँमा सबैको घरमा माहुरीपालन गरिएका घारहरू छन्,” उहाँले भन्नुभयो,“व्यवसायिक रुपमा अघि बढाउन समूहले काम थालेको छ ।”