स्वदेशी हस्तकला प्रयोग गर्न उपराष्ट्रपतिको आग्रह

  मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल हस्तकला महासङ्घ ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १०औँ हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामग्री प्रयोग गर्न आग्रहसमेत गर्नुभयो ।

नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “नेपाल सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिँदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ । नेपाली हस्तकलाले नेपाली कला संस्कृतिको संरक्षण सम्बद्र्धसमेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, जुन हाम्रा लागि गौरवको कुरा हो ।”

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले महासङ्घले स्वर्ण वर्षभरि हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाइन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमूलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्कासन गर्ने जानकारी दिनुभयो ।

त्यस्तै, हस्तकलाले खेलेको भूमिकाबारे निबन्ध प्रतियोगिता आयोजना गर्ने, महासङ्घका पूर्वपदाधिकारी तथा सदस्यलाई क्रमशः सम्मान गर्दै जाने, वक्षरोपणका कार्यक्रम सञ्चालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्नेगरी लोगो अङ्कित मफलर बनाउने रहेको पनि अध्यक्ष शाक्यले बताउनुभयो । महासङ्घले हस्तकला नीतिको मस्यौदा सरकारलाई बुझाएको आठ वर्ष बितिसक्दा पनि नीति कार्यान्वयन नआएको गुनासो गरेको छ । कोरोना प्रभाव, कच्चा पदार्थ अभाव, निर्यातमा महँगो कार्गो भाडा, सरकारी उपेक्षालगायतका कारण नेपाली हस्तकला सङ्कटबीच गुज्रिरहेको महासङ्घले जनाएको छ ।

हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्युयोर्कमा प्रोडक्ट अफ नेपाल (पोन) नामक कम्पनी स्थापना र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । समान उद्देश्यका अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग भ्रातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासङ्घले विश्वकला परिषद् (वल्र्ड क्राफ्ट काउन्सिल)को सन् १९९० मा सदस्यता लिई परिषद्बाट सञ्चालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । परिषद्को एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासङ्घले काठमाडौँमा सफलतापूर्वक आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया