सप्तरी, मङ्सिर १५ : सप्तरीको कूल ७० हजार हेक्टर धानखेती योग्य जग्गा रहेको तर सिंचाइ अभावका कारण र बेमौसमी बाढीले गरेको क्षतिका कारण धान उत्पादनमा कमी आएको छ ।
सप्तरीमा बहुसङ्ख्यक सर्वसाधारणको जीवन कृषिमै निर्भर छ । कृषकहरुको मुख्य बाली पनि धान खेती नै हो । धान उत्पादनमा कमी आएपछि किसानहरु मार्कामा परेका छन् । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार यस वर्ष सप्तरीमा २० प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान छ ।
गत कात्तिकमा आएको बेमौसमी बाढी धानखेतमा व्यापक क्षति भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको जनाइएको छ । गत वर्ष सप्तरीमा ७० हजार हेक्टरमध्ये ६३ हजार हेक्टर जग्गामा धानखेती भएको थियो । अघिल्लोभन्दा १० प्रतिशतले उत्पादनमा कमी आएर एक लाख ८२ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षभन्दा यस वर्ष ५ हजार हेक्टर बढी जग्गामा धान बाली लगाएको केन्द्रको तथ्याङ्क छ । कुल ६८ हजार हेक्टर जग्गामा धान बाली लगाइए पनि एक लाख ५० हजार मेट्रिक टन मात्रै धान उत्पादन हुने केन्द्रले जनाएको छ । ‘गत वर्षभन्दा २० प्रतिशतले धान उत्पादनमा कमी आउने देखिन्छ’ केन्द्रले भनेको छ ।
यहाँ सिंचाइ अभावमा अधिकांश किसानले अकाशे पानीकै भरमा खेती गर्छन । कहिले बर्षा नहुँदा पीडा त कहिले बर्षाकै कारण धान क्षति हुनेगरेको किसानको गुनासो छ । दीर्घकालीन रुपमा समस्या समाधान गर्न भने कसैले पनि पहल नगरेको किसान अनिल मण्डलले बताउनुभयो । सप्तरीका सर्वसाधारणको जनजीवन सहज पार्न स्थानीय र प्रदेश सरकारलाई गम्भीर हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।