सोलुखुम्बु, मङ्सिर १३ : गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै विस्तारै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष विनासिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु औल झारिएको भेडापालक व्यवसायीहरुले बताउनुभयो ।
सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरुले पुस्तौँअघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसायजस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भेडापालकहरुको भनाइ छ । सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने सोलुखुम्बुको सल्यान– ५ का व्यवसायी प्रवेश राईले बताउनुभयो ।
“यो पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न”, राईले भन्नुभयो । भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको व्यवसायीहरुको भनाइ छ । अहिले हिमालमा चिसो हुने भएकाले मध्यपहाडी भेगका जङ्गलमा अधिकांश भेडागोठहरु रहने गर्छन् ।
मुक्लीका परशुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडागोठ लाने र फेरि गर्मी सिजन हुरु भएपछि क्रमशः फर्काउने बताउनुभयो । भेडालाई धेरै चिसो र धेरै गर्मी हुनुहुँदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ, उहाँले भन्नुभयो ।
मुख्यतः पूर्वी पहाडका गुरुङ जातिको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण तथा युवापुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरुको भनाइ छ ।
कुनै सामुदायिक वन उपभोक्ता समूहहरुले भेडाको चरणक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुनेगरेको व्यवसायीहरुको भनाइ छ । “सिजनअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ” मुक्लीका खड्गबहादुर गुरुङले बताउनुभयो ।
भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडोयाममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गर्ने गरिन्छ । यता हिन्दु धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संंस्कारमा राडी आवश्यक हुन्छ ।