‘ए’ डिभिजन लिग : लगातार हारले दबाबमा एपीएफ

  मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : विभागीय टोलीको एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो हार खेपेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफ च्यासल युथ क्लबसँग १–० गोलले हरायो ।

पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोलले पराजित भएको थियो । च्यासलको भने यो पहिलो जित हो । च्यासलले पहिलो खेलमा थ्रीस्टार क्लबसँग ३–० गोलको हार खेपेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा च्यासललाई जिताउन रुमेश बर्तौलाले निर्णायक गोल गर्नुभयो । ४९ औँ मिनेटान कमल श्रेष्ठले डिबक्स भित्र मिलाई दिएको पासमा रुमेशले उत्कृष्ट गोल गर्नुभएको थियो । एपीएफलाई खेलभर च्यासलको रक्षापंक्ति तोड्न गाह्रो भयो ।

च्यासलले दोस्रो हाफमा पनि गोलका लागि अवसर बनाएको थियो । निर्णायक गोल गरेका च्यासलका रुमेश ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो । जितसँगै च्यासलले तीन अंक बनाएको छ । अंक बिहिन एपीएफ तालिकाको अन्तिममा छ ।

खेलपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले आज खेलाडीको आपसी तालमेल मिल्दा जित सम्भव भएको बताउनुभयो । ‘आज जित्नकै लागि आएका थियौँ । अघिल्लो खेलको हारले पनि दबाब थियो । खेलाडीले धेरै राम्रो खेले । आगामी खेलमा सुधार गर्दै जानेछौँ,’ साहुखलले भन्नुभयो ।

एपीएफका प्रशिक्षक कुमार थापाले उस्तै टोलीसँगको लगातार हारले दबाब थपिएको बताउनुभयो । ‘आज खेल ठिकै थियो, तर गोल भएन । हामीलाई लिगमा टिक्न गाह्रो छ । लिगान ६ अंक गुम्नु भनेको ठूलो हो । उस्तै टिमसँग अंक गुमाउँदा दोब्बर घाटा लाग्छ । अघिल्लो वर्ष बल्लबल्ल रेलिगेसन जोगिएको थियो ।

लिगमा दई लाख रुपैयाँ खाने खेलाडी र ३० हजार तलब खाने खेलाडीबीच तुलना हुँदैन । विभागीय टोलीमा विदेशी खेलाडी राख्न नपाउनु नै घातक छ,’ थापाले भन्नुभयो । लिगअन्तर्गत शनिबार दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया