भक्तपुर, कात्तिक ३० : भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गर्नुभएको हो ।
प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगरप्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताउनुभयो । उहाँले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताउनुभयो । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउवितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ ।