काठमाडौँ, कात्तिक १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मानिसले स्वच्छ र स्वस्थ खाना खानुपर्ने उसको मौलिक अधिकार भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनपछि मन्त्री यादवले दिनुभएको मन्तव्यमा खाद्य स्वच्छता र शुद्धता जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले त्यसमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।
“संविधानमा खाद्य स्वच्छतालाई मौलिक हकका रूपमा राखिएको हुनाले जनताको अधिकारको कुरा भएको छ,” उहाँले भन्नुभयो, “विभागको ल्याबलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र भएका जनशक्तिलाई दक्ष बनाउनुपर्छ र चेकचाँच तथा अनुगमको कामलाई देशैभरि विस्तार गर्नुपर्छ । ”
अनुगमनमा मन्त्रीसहित कृषि मन्त्रालय (पशुपन्छीतर्फ)का सचिव डा. गोविन्दप्रसाद शर्मा, सोही मन्त्रालयका अर्का निमित्त सचिव निरु दाहाल पाण्डे पनि जानुभएको थियो । मन्त्री यादवले राष्ट्रिय खाद्य तथा दाना रेफ्रेन्स प्रयोगशालाको विशेष अनुगमन गर्नुभएको थियो ।
अनुगमनपछि विभागका महानिर्देशक डा. मतिना जोशी (वैद्य)ले विभागका बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री यादवको कार्यकालमा खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य प्रविधिको क्षेत्रमा व्यापक सुधार हुने अपेक्षा विभागले गरेको महानिर्देशक जोशीले बताउनुभयो ।