नेपालगञ्ज, असोज २८ : नेपाल–भारत जमुनाह नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण कार्य दुई वर्षभित्र पुरा गर्ने गरी शुरु गरिए पनि समयावधी सकिन लाग्दा हालसम्म १५ प्रतिशत मात्र काम भएको छ ।
भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २५ नोभेम्बर २०२२ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले हालसम्म १५ प्रतिशत मात्रै काम सकिएको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका सूचना अधिकारी होमनाथ भुसालले बताउनुभयो ।
दुई अर्ब ३५ करोड नेपाली रुपियाँको लागतमा आइसीपीको निर्माण कार्य शुरु गरिएकोमा कोरोनाका कारणले काममा ढिलाई हुँदा समस्या भएको निर्माण कम्पनीले जनाएको उहाँले बताउनुभयो । कोरोनाका कारण नाका ठप्प हुँदा निर्माण सामग्री आयातमा समस्या हुनुका साथै वर्षातको समयमा माटो पटानीलगायतको काम पनि हुन नसक्दा काम पुरा हुन नसकेको सूचना अधिकारी भुसालले बताउनुभयो ।
आइसीपिको निर्माण शुरु गरिएलगत्तै कोरोना महामारी शुरु भएकोले लामो समय नाका बन्द हुँदा निर्माण सामग्री ल्याउन नसक्दा निर्माण कार्यले गति लिन नसकेको जानकारी निर्माण कम्पनीले गराएको उहाँले बताउनुभयो । निर्माणस्थल पानी जम्ने स्थानमा भएकाले बर्षातको समयमा माटो पटानीलगायतका कार्यमा ढिलाई भएको र अब केही समयपछि निर्माण कार्यले गति लिने उहाँले बताउनुभयो ।
आईसीपि निर्माण नहुँदा मालवाहक सवारीसाधन जाँचपासमा समस्या हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधिलगायत भन्सारसँग सम्बन्धित काममा कठिनाइ हुनेगरेको छ । सबै सेवा एकीकृत रुपमा त्यहाँबाट सुरु हुने भएपछि भन्सार सुधारको अभियानलाई तिब्रता दिन मद्दत पुग्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताउनुभयो । ‘यसले अत्याधुनिक भन्सारको सपना साकार हुने छ’ उहाँले भन्नुभयो ।
आइसीपी निर्माण भएपछि दुई देशबीचको ब्यापार सहज र व्यवस्थित हुने भएकोले छिटो निर्माणमा दवाव दिंदै आएपनि निर्माणले गति लिन नसकेको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले एक दसकदेखि नाकामा आईसीपी निर्माणको चर्चा चलेपनि अझै पुरा हुन नसक्दा स्थानीय उद्योगी व्यवसायी निराश बनेको बताउनुभयो ।