भैरहवा, असोज २५ : हिन्दू नेपालीहरुको महान पर्व बडादशैँसुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरु फर्कने क्रम बढ्दै गएको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरु यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरु चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् ।
गत वर्ष कोभिड–१९ को जोखिमका कारण स्वदेश फर्कने नेपालीको संख्यामा भने कमी आएको थियो । बडादशैं सुरु भएसँगै देनिक सात सय जना नेपाली चाडपर्व मनाउन नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताउनुभयो । “चाडपर्व सुरु भएसँगै नेपाल प्रवेश गर्ने नेपालीको सङ्ख्यामा वृद्धि भएको छ, विहान सवा ६ बजे भारतका विभिन्न शहरमा रोजगारीका सिलसिलामा पुगेका एकैपटक २५० जना नेपाल प्रवेश गर्छन”–पौडेलले भन्नुभयो ।
स्वदेश फर्केका नेपालीलाई सहजता प्रदान गर्नका लागि बेलहियास्थित भैरहवा भन्सार कार्यालय नजिकै यात्रु नागरिक सहायता कक्ष राखिएको छ । त्यस्तै चाडपर्व सुरु भएपछि अहिले किनमेलका लागि भारतीय बजार सुनौली र नौतनवा पुग्ने नेपालीका कारण त्यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढेको छ ।
त्यस्तै वडादशैँ, दीपावली र छठ पर्व–२०७८ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले योजना कार्यान्यवनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
योजना अन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगती, विकृतिविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई कारवाही, प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली (क्यूआरटी) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।
त्यस्तै, चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग हुन गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही, सबैखाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ–संस्थाका सुरक्षा गार्ड÷कार्यालय सहयोगीसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने डीएसपी थापाले जानकारी दिनुभयो ।
त्यसैगरी विगतमा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन, बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभुति दिने, चाडपर्वको समयमा बढी भिडभाड हुने बजार, हाटबजारमा पैदल गस्ती, मोबाइल गस्ती गरी विभिन्न प्रकारका आपराधिक क्रियाकलापविरुद्ध प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।