बाँके, असोज १७ : नेपालगञ्जको जमुनाह नाका भएर यात्रुबाहक सवारी साधनहरुको आवागमन खुला भएको छ । त्यसैगरी नेपाली यात्रुबाहक सवारी साधन पनि भारत प्रवेशमा अनुमति पाएका छन् ।
कोभिड–१९ सङक्रमण रोकथाम र नियन्त्रणका लागि बन्द गरिएको नेपालगञ्जको जमूनाह नाका डेढ वर्षपछि आइतबार खुला भएको छ ।यसअघि मानिसहरुको पैदल आवागमन भइरहेको भए पनि यात्रुबाहक सवारी साधनलाई एक देशबाट अर्को देशमा जान रोक लगाइएकोमा आजबाट खुला गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणमा कमी आएपछि गृह मन्त्रालयको निर्देशनअनुसार जमुनाह नाकामा सवारी साधनको आवागमन खुला गरिएको जानकारी दिनुभयो । “अबदेखि यात्रुबाहक नेपाली सवारी साधनहरु प्रक्रिया पु-याएर सीमा पार जान सक्छन,” प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, “भारतीय सवारीसाधन पनि प्रक्रिया पूरा गरी नेपाल आउन पाउँछन् ।’
भारतीय सुरक्षा निकाय एसएसबीले यसअघि भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेशमा रोक लगाएको थियो । एसएसबीलाई समेत सवारीसाधन निर्वाध सञ्चालनका लागि माथिल्लो निकायबाट पत्र आएपछि सीमा नाकामा सवारी साधनहरु सञ्चालनमा आएका हुन् ।
नेपालमा कोभिड सङ्क्रमणपछि चैतमा सीमानाका बन्द गरिएपछि पहिलो पटक नेपाली नम्बरप्लेटका मोटरसाईकल, अटोरिक्सा, लगायतका सवारीसाधन सीमा पारी रुपैडिया पुगेका छन् । सीमा नाकामा सवारीसाधन सञ्चालनका लागि आईतबार विहान नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भएको थियो ।
दैनिक किनमेलका लागि जाने नेपाली, ओसारपसार गर्ने अटोरिक्सा, र यात्रुबस तथा अन्य सवारी साधनलाई अब सहज हुनेभएको छ । यसैगरी भारतबाट नेपाल आउनेहरुलाई पनि सहज हुने विश्वास स्थानीयको छ ।