राष्ट्रिय फुटसल लिग : राइजिङ दोस्रो स्थानमा उक्लियो, लुम्बिनी रेलिगेसनमा

  असोज १६, २०७८

कास्की, असोज १६ : पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा विजयी हुँदै ‘द राइजिङ क्लब’ धरान अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । धरानसँगको पराजयसँगै लुम्बिनी फुटसल क्लब रेलिगेशनमा परेको छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा लुम्बिनी धरानसँग ६–५ गोलअन्तरले पराजित भएको हो । जितसँगै राइजिङको आठ खेलबाट १६ अङ्क भएको छ भने लुम्बिनीको समान खेलबाट चार अङ्क मात्र हुँदा रेलिगेशनमा परेको हो । राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाङ, सुदीप गुरुङ, हेमन्त थापा मगर र मिलन राईले गोल गर्नुभयो । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिस शर्माले गोल गर्नुभएको थियो ।

आज भएको दोस्रो खेलमा स्पोट्र्स क्यासलले फुटसल–५ धरानविरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले ३–२ गोलअन्तरले धरानलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो ।

खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो । धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए पनि १०औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिए पनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाउनुभयो । क्यासलका सुमित श्रेष्ठले ३७औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । क्यासलका कप्तान अञ्जन देवकोटाले ४० औँ मिनेटमा निर्णायक गोल गर्दै जित दिलाउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया