डडेल्धुरा, असोज १६ : ‘कि त जोत हलो, कि त छोड थलो हैन भने अब छैन भलोे’ किसान नेता शहिद भीमदत्त पन्तको भनाई मस्तिष्कमा घोचिरहेको थियो । बिहानैदेखि झमझम दर्कने झरी परिरह्यो, तर बाहिर निस्कनु पर्ने बाध्यता थियो । मेरा पाइलालाई त्यो पानीले छेक्न सकेन । दर्कने झरीभन्दा ठूलो पीडाले मलाई सताइरहेको थियो ।
साउने झरीलाई छिचोल्दै मालिकको घरसम्म पुगेँ, मालिकले साँढेजस्तै गर्जिएर भने– “चाँडो बल्ल (गोरु) लाई खेतमा लगेर जोत्नू ।” स्थानीय खडकबहादुर पल्लेलाई मालिकको आदेशअनुसार गोरु खेतमा लगेर जोत्नु थियो । लगातारको खेत जोताईले मेरा हातमा उठेका फोका (ठेला) फुटेर पानी निस्कँदै थिए, ठेला फुटेर बेस्सरी पोलिरहेको थियो । ठेलाको पोलाईभन्दा पनि पूरै खेत जोति सक्नुपर्छ भन्ने मालिकको शब्दले झस्काइरह्यो ।
दिन ढल्किएसँगै थाकेर शिथिल भएको शरीर र थाकिएका गोरुले आराम खोज्दै थिए । म बाध्य थिएँ, ती निर्दोष गोरुमाथि कठोर बन्न । पिठ्युँमा लठ्ठीले के हिर्काएको थिएँ, त्यही लठ्ठी मेरा लागि कठोर बन्यो । सायद गोरुको पिठ्युँको चोट सहन नसकेर मेरो दाहिने आँखालाई निशाना बनाएको थियो भाँचिएको लठ्ठीले । आँखामा नराम्रो चोट लाग्यो । आँखाको पीडाभन्दा घरमा बिरामी परेको ६ महिने दुधे बालकलाई सम्झिएँ । श्रीमतीलाई सम्झिएँ । चिटचिट पसिना छुट्यो । आँसुका ढिक्का आँखाको डिलबाट हाम्फाल्दै मालिककै माटोमा बिलायो ।
दिनभरको थकित मेरा सहयात्रीलाई गोठमा बाँधेर मालिकको आँगनमा थकान मेटाइरहेको थिएँ । श्रीमती ललिता हतारिँदै मालिकको आँगन पुगिन् । ‘छेलो बणि बिमार भयो बैद्यले एक माना चामल ल्याइबर आया पाछा मात्तरै भेद अद्यौ भण्राईछ’ (छोरालाई बिमारले बढी नै च्यापेको छ र वैद्यले एक माना चालम ल्याएपछि मात्रै उपचार गर्छु भनेको छ ।) मालिक्नीसँग छोराको आखार देखाउने चामलका लागि अनुनय–विनय ग¥यौं । ‘हजुर छोरा बचाउन एक माना चामल दिनुस् ।’ निर्दयी मालिक्नीको जवाफ आयो ‘अस्तिमात्रै चामल लगेको होइन ? यति छिटै दिन कहाँ सकिन्छ ?’
गरिबको खुसीमा दैवको आँखा निरन्तरको वर्षातले रातभरि जाग्राम मात्रै बसिएन, गुल्जेघरभित्र निथ्रुक्क भएको शरीरलाई त्यो पीडाले छुन सकेको थिएन । स्याक स्याक परानी खुस्काइरहेको बालकलाई जोगाउन आस मरेको थिएन । भेद गर्न वैद्यले मागेको माना चामल र एक टुक्रा कालो कपडा दिन सक्ने सामथ्र्य नहुँदा नहुँदै पनि लाचार भएर वैद्यको दैलोमा बिहान सखारै पुग्यौं । दिनभरि भोकभोकै वैद्यको खेत रोप्नु मेरो रहर थिएन । बालकको भेद गर्न पाउँदा मेरा सारा पीडाहरु पनि भेदसँगै बिलाए ।
अमरगढी नगरपालिका ३ गुजरलेकका खडकबहादुर पल्लेको यो कथा नभएर वास्तविक जीवनमा घटेको घटना हो । उहाँ जीवनमा २८ वर्ष हलिया बस्नुभयो । २०१७ सालमा जन्मिएका पल्लेले २०३४ देखि ०६२ सालसम्म अमरगढी नगरपालिका ३ का मन्धीर पाली बिष्ट (हाल बित्नु भयो) कोे घरमा हलिया भएर काम गर्नुभयो ।
बाजेबुवा आजीवन हलिया बस्नुभयो र मैले पनि २८ वर्ष त्यो बिँडो थाम्न बाध्य भएँ पल्ले भन्नुहुन्छ । ६२ वर्षीय वृद्ध खडकबहादुरकाअनुसार बुवाले दाइको बिहे गर्न २५ रुपैयाँ माग्नु भयो । २०३८ सालमा बुवा देवहासान पछि घरको जिम्मेवारी आयो । २०४४ सालमा आफ्नो बिहे पनि मालिकबाट आठसय रुपियाँ मागेर गरेको थिएँ । सोही पैसाबापत २८ वर्षसम्म हलिया बस्नु प¥यो उहाँले भन्नुभयो ।
खेतीपातीको सिजनबाहेक अन्य समयमा मालिकको कमरा भएर काम गर्नुपर्ने थियो । त्यो काम गरेवापत तीन चार दिनमा एक दुई माना चामल दिन्थे । त्यतिले मात्रै घरमा खान पुग्दैनथ्यो । श्रीमतीले मजदुरी गरेर ल्याएको अन्नले घर जोहो चल्थ्यो पल्लेले भन्नुभयो, “आँटाको रोटी पनि कहिलै पेटभरि खान पाइएन । बिसन्चो हुँदा पनि मालिकको घरखेतमा जानै पर्ने थियो ।”
हलिया आन्दोलन
वि.स. २०५९ मा उठेको हलिया सवाल विद्रोहको झिल्को बन्यो । त्यही झिल्को डडेल्धुराबाट मसाल बन्दैगयो । मालिकको चङ्गुलमा रहेका हलिया २०६१–६२ सालतिर संगठित हुँदै मालिकमाथि धावा बोल्न थालिसकेका थिए । सडकदेखि सिंहदरबारसम्म आन्दोलनको आवाज गुन्जिन थाल्यो उहाँले स्मरण गर्नुभयो ।
पल्लेले भन्नुभयो, “सुत्केरी गोठबाट १२ दिनको छोरी बोक्दै पुसको चिसो सिरेटो अनि हिउँसँग नाङ्गा खुट्टालाई स्पर्श गराउनु रहर थिएन । वर्षौदेखिको दासत्व अन्त्यको लडाइँ थियो त्यो । मलाई त्यो चिसो हिउँले खासै ठिहि¥याएन, जति मालिक्नीका शब्द र व्यवहारले पोलेका थिए । प्रशासनको दैलोमा च्यात्तिएको एकसरो धोतीको प्वालबाट शरीरका अङ्ग देखिनुमा मलाई लाज लागेन । यो त बन्धक शरीरलाई स्वतन्त्र बनाउने महान् अभियान थियो ।”
पेटभरी रोटी र ढिके नुन खान नपाएको म, दिनभरि नाङ्गा गोडा (खुट्टा) ले धर्ना बस्दाको असह्य पीडाले मलाई पोषणयुक्त ऊर्जा दिइरहेको थियो उहाँले थप्नुभयो, “धर्नाबाट फर्किदा बाटोमा लठ्ठी समाएर बसेका मालिकको अन्तिम छटपटीले डर होइन, ऊर्जा थपिरहेको थियो । अन्तत लामो संघर्षपश्चात २०६५ भाद्र २१ गते नेपाल सरकारले हलियाका माग सम्बोधनसहित ५ बुँदे सहमति गर्दै औपचारिक रुपमा हलिया मुक्तिको घोषणा ग¥यो ।”
हलिया मुक्तिको घोषणा भएपछि गुजरलेकका खडकबहादुरले २८ वर्षे हलिया जीवनबाट मुक्त हुनुभयो । ‘ख’ वर्गको परिचयपत्र पाएसँगै पल्लेलाई पुनस्र्थापनाबापत ३ लाख २५ हजार रुपियाँसमेत हात लाग्यो उहाँले सम्झनुभयो । “पुनस्र्थापनाका लागि पाएको उक्त पैसाले चार कोठे पक्कीघर बनाएर खुसीसाथ पल्लेको परिवार बसे । उक्त घर बनाउँदा आठ नौ लाख रुपियाँ खर्च लागेको र चार पाँच लाख ऋण लागेको घटना बिर्सेको छेन ।”
उहाँकाअनुसार एउटा छोरा अहिले भारतमा काम गर्छन् । अर्का डडेल्धुरा सदरमुकाममै मोटरसाइकल मर्मत पसलमा काम गर्छन् । जेठी छोरीको बिहे भएको छ र कान्छी कक्षा ८ र बुहारी कक्षा १२ मा पढ्दैछन् । उनीहरुले पढ्न चाहेजति पढाउन तयार रहेको ललिता पल्लेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुक्ति नहुँदासम्म छोरालाई मालिककै गोठालो बनाएका थियौं । अब गोठालो र निरक्षर भएर बस्नु नपरोस भनेर छोरी र बुहारीको बढाइलाई निरन्तरता दिएका छौं ।” खान लगाउन कसैसँग हात थाप्नु नपरेको उहाँले बताउनुभयो । बस्नका लागि पुरानो र नयाँ गरी दुईटा घर रहेको उहाँले बताउनुभयो । हामीले होटेलमा चिया खाएको गिलास अहिले धुनु परेको छैन, आर्थिक समृद्धिभन्दा पनि स्वतन्त्रता ठूलो भएको महसुस भएको छ पल्लेले भन्नुभयो ।
वर्षभरिमा मालिकको अधियावाहलिया खेतको भरमा पुस्तौंपुस्ता हलिया बसेका व्यक्तिलाई सरकारले मुक्तगरी पुनस्र्थापनासँगै स्वतन्त्र बनाउनु नै सबैभन्दा खुसीको कुरा भएको पुर्वमालिक तेजबहादुर शाहीको भनाई छ । उहाँले भन्नुभयो, “हलियाहरु मुक्त भएपनि हामीले सामाजिक सद्भावकासाथ सहयोग गर्दैआएका छौं ।”
मुक्तपछिको अवस्था
डडेल्धुरामा प्रमाणीकरण भएका २५५१ मुक्त हलियामध्ये १९० जनाको लगत कट्टा गरिएको थियो । बाँकी २३६१ जना पुनस्र्थापना प्याकेजमा समावेश गरिएको थियो । २३१४ जनाको पूर्ण पुनस्र्थापना भइसकेको छ । जसमध्ये ५६ जनाका लागि जग्गा खरिद गरिएको र घर निर्माणमा प्रतिव्यक्ति ३ लाख २५ हजार दिइएको थियो ।
जिल्ला मालपोत डडेल्धुराका प्रमुख अशोक सार्कीकाअनुसार हालसम्म हलियाहरुको पुनस्र्थापनामा करिब ४० करोड रुपियाँ खर्च भइसकेको छ । डडेल्धुरामा ‘क’ वर्गको परिचयपत्र ३१५, ‘ख’ वर्गको परिचयपत्र ६६४, ‘ग’ वर्गको परिचयपत्र ४५० र ‘घ’ वर्गको ९३२ जनाले पाएको मालपोत कार्यालयको तथ्याङ्क छ ।