दिलमाया स्मृति कप फुटबल प्रतियोगिता शुरु

  असोज १३, २०७८

बिर्तामोड, असोज १३ : झापाको क्षेत्र नम्बर ४ स्तरीय दिलमाया स्मृति कप वार्डस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्बूको माताको स्मृतिमा नेपाल खेलकुद महासङ्घको आयोजनामा हुने प्रतियोगितामा झापा क्षेत्र नम्बर ४ का २८ वार्डका खेलाडीको सहभागिता रहेको नेपाल खेलकुद महासङ्घका संयोजक सुनिल भेटवालले बताउनुभयो ।

झापा क्षेत्र नम्बर ४ का कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगञ्जका केही वार्डहरुमा फरक फरक स्थानमा छनाेट खेल हुने बताइएको छ । उत्कृष्ट ८ टिमको फाइनल खेल आगामी कातिक १२ गतेदेखि दुधेमा हुने भेटवालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार नगद र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपियाँ पाउने छन् । उत्कृष्ट ८ मा पर्ने टिमले समेत नगद पाउने आयोजकले बताएको छ । सबै विधाका विधागत खेलाडीले समेत नगद र ट्रफी पाउनेछन् ।

उदघाटन कार्यक्रममा प्रतियोगिताका संरक्षक तथा सांसद साबाँ लिम्बूले आफ्नी माताको नाममा केही योगदान गरौ उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि जम्मा १६ लाख ७० हजार ५ सय रुपियाँ लाग्ने बताइएको छ । खर्चको व्यवस्थापन साबाँ परिवारले व्यवस्था गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया