रमिज राजा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नियुक्त

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : पूर्ब ब्याट्सम्यान रमिज राजा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।

बोर्डले दरखास्त आव्हान गर्दा रमिज राजा उक्त पदका लागि एकल उम्मेदवार हुनुहुन्थ्यो । छ सदस्यीय पाकिस्तान क्रिकेट बोर्डको सञ्चालक समितिले उहाँलाई अध्यक्ष निर्वाचित गरेको हो ।

बोर्डका निवर्तमान अध्यक्ष एहसान मणिले निरन्तरता दिन नखोजेपछि उहाँको विकल्प खोजिएको हो । बोर्डले आफ्नो ३६ औं अध्यक्षको रुपमा रमिज राजालाई निर्वाचित गरेको हो । ऐजाज बट्ट, जाभेद बुर्की र अब्दुल हाफिजपछि बोर्डको अध्यक्ष निर्वाचित हुने रमिज चौथो क्रिकेटर हुनुहुन्छ ।

पाकिस्तानको चयन समितिले टी ट्वान्टी विश्वकपका लागि खेलाडी चयन गर्दा रमिज राजा सक्रिय सहभागी हुनुहुन्थ्यो । तर खेलाडीको घोषणा भए लगत्तै प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार युनूसले राजीनामा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया