‘सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन’

  भदौ २८, २०७८

काबुल, अफगानिस्तान, भदौ २७ : अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ ।

डीबीएले आइतबार दिएको एक वक्तव्यमा भनिएको छ, “अहिलेसम्म ‘दा अफ्गानिस्तान बैंक’ले यस बैंकको मौद्रिक सञ्चितिलाई फ्रिजिङ गर्नेसम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त गरेको छैन र बैंकलाई विदेशी सञ्चारमाध्यमको रिपोर्टका आधारमा अफगानिस्तानी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमार्फत यसबारे जानकारी गराइएका छन् ।”

अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि धेरै ग्राहकहरूले आफ्नो बचतलाई बैंकबाट निकाल्न लामो लाइनमा बस्नुपर्ने बाध्यता भएको छ । अमेरिकाद्वारा अफगानिस्तानी बैंकको सम्पत्ति जफत गर्ने र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)द्वारा घोषणा गरिएको रकम रोकिएको रिपोर्टले अफगानीहरू माझ चिन्ता बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

गत महिना डीबीएले मध्य एसियाली देशका सबै बैंकहरूलाई ग्राहकका लागि २० हजार अफगानीहरूको साप्ताहिक निकासी सीमा निर्धारण गर्ने आदेश जारी गरेको थियो । डीबीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘डा अफगानिस्तान बैंक’ले अफगानिस्तानका सम्पन्न नागरिकहरूलाई व्यावसायिक बैंकहरूमा आफ्नो निक्षेपको सुरक्षाको हुने विश्वास दिलाउन चाहन्छ ।

गत आइतबार अफगानिस्तानका अधिकांश बैंकले वित्तीय सेवामा झण्डै हप्ता लामो अवरोध अन्त्य गर्दै मुलुकमा बैंकिङ सेवा पुनः सञ्चालनमा ल्याएका छन् । तर बैंकको पैसा जफत हुने समाचारपछि निक्षेपकर्ताले आफ्नो रकम झिक्न थालेपछि बैंकमा ग्राहकहरूको लामो लाइन लाग्न थालेको छ ।

तपाईको प्रतिक्रिया