यूएस ओपनको फाइनलमा जोकोभिचले मेदभेदेभको सामना गर्नुहुने

  भदौ २६, २०७८

काठमाडौं, भदौ २६ : यूएस ओपन टेनिस पुरुष एकल तर्फको फाइनलमा नोभाक जोकोभिच र डेनिल मेदभेदेभबीच स्पर्धा हुने भएको छ । फाइनल खेल आइतबार हुनेछ। दोस्रो सेमीफाइनलमा जोकोभिचले अलेक्जेण्डर जेभ्रेभलाई हराउनुभएको छ ।

रुसी दोस्रो वरीयताका मेदभेदेभले क्यानाडाका फेलिक्स औगर–अलिस्सीमलाई हराएर फाइनलसम्मको यात्रा गर्नुभएको छ । विश्व वरीयताको शीर्षस्थानमा रहनुभएका जोकोभिचले जेभ्रेभलाई हराउन पाँच सेटको कठीन खेल खेल्नुपर्यो । पहिलो सेटमा पछाडि पर्नुभएका जोकोभिच चौथो सेट समेत गुमाउन पुग्नुभएको थियो । उहाँले जेभ्रेभलाई ४–६ ६–२ ६–४ ४–६ ६–२ को पाँच सेटमा हराउनुभयो ।

जोकोभिचले अब २१ औं पटक पुरुष एकल ग्रान्ड स्लाम उपाधि जित्ने कीर्तिमान बनाउने होडमा हुनुहुन्छ । यसअघि रोजर फेडेरर र राफल नाडल मात्रैले २० पटक ग्रान्ड स्लाम जित्नुभएको छ । उक्त कीर्तिमान जोकोभिचले बराबरी गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया